प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिता अवधिभर अपराजित रही उपाधि जित्ने क्रममा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटको सहज जित हात पारेको हो ।
पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो ।
आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसका लागि शंकर रानाले अविजित ६२ रनको पारी खेले । त्यस्तै आरिफ शेखले अविजित २७ रन बनाए । अर्जुन साउदले ३६ रन जोड्दा अमृत श्रेष्ठ २८ रन बनाउँदै आउट भए । त्यस्तै कुशल भुर्तेलले १४ रनको योगदान गरे । आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शाहब आलम र बसिर अहम्मदले समान एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको हो । आर्मीले विवेक यादवको ६३ रनको पारीले पुलिसलाई उक्त लक्ष्य दिएको हो ।
विवेकका अलवा आर्मीका लागि इमरान शेखले २८, सोमपाल कामीले ३९ र कुशल मल्लले १७ रनको योगदान गरे ।
पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन-तीन विकेट लिँदा सागर ढकाल, कुशल भुर्तेल, करण केसी र रशिद खानले एक-एक विकेट लिए ।