काभ्रे – काठमाडौं विश्वविद्यालयमा ‘हल्ट प्राइज’ ले ‘इम्प्याक्ट अप : स्टार्टअप एण्ड एसएमई मिट’ कार्यक्रम सफलातापूर्वक आयोजना गरेको छ। गत जनवरी २५ मा आयोजना गरिएको कार्यक्रम एनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेससँग इन्क्युबेशन सेन्टर (केयुबिआइसि ) को सहकार्यमा सम्पन्न भएको हो।
डेपुटी क्याम्पस निर्देशक प्रारब्द सिंह महतको नेतृत्वमा भएको सो कार्यक्रम विद्यार्थी र पछि नेपालमै बसेर उद्यमी बन्न चाहनेका लागि महत्वपूर्ण सावित भएको छ।
आयोजक समितिमा काठमाडौं विश्वविद्यालयका कुसोम, कुसोइ, कुसोल र एनसिएमका विद्यार्थीहरू समावेश थिए। कार्यक्रमको मुख्य प्रायोजकमा क्यानेडियन स्टडी सेन्टर र प्रायोजकमा महिन्द्रा नेपाल रहेका थिए। उक्त कार्यक्रममा कुल २१ स्टार्टअप र एसएमईहरू साथै काठमाडौं विश्वविद्यालयका छात्रहरू पनि सहभागी थिए।
कार्यक्रमको मूख्य अतिथिको रुपमा एफएनसिसी काभ्रे वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकी रहेका थिए। उनले विश्वका अन्य भागमा स्टार्टअपका लागि आइडियालाई मूख्य मान्ने गरे पनि नेपाली मानसिकताले लगानीलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले नेपाली स्टार्टअपलाई विश्वको प्रवृत्ति सँगसँगै लैजानुपर्ने बताए।
हल्ट प्राइज काठमाडौं विश्वविद्यालयका शिक्षक तथा सल्लाहकार रमेश घिमिरेले उद्यमशीलताका लागि केयूको अटल प्रतिबद्धता रहेको उल्लेख गरे।
डेपुटी क्याम्पस निर्देशक प्रारब्द सिंह महतले ‘स्टार्टअप’हरुमा एक-आपसमा प्रतिस्पर्धा मात्र नभइ सहकार्य गर्न पनि आवश्यक रहेको बताए।
राउन्ड टेबल छलफलमा स्टार्टअप, उद्यमी र विद्यार्थीहरू ५-५ को समूहमा विभाजित थिए। छलफलको विषय भने “सबैजना उद्यमी बन्न सक्दैनन्” थियो जहाँ उद्यमीका सफलता र समस्या बारेमा छलफल भएको थियो। कार्यक्रममा व्यापक छलफलका साथसाथै स्टार्टअपहरूले आफ्नो विचार र यात्राका बारेमा जानकारीको दिएका थिए।
राउन्ड टेबल छलफलपछि प्यानल चर्चा गरिएको थियो जसमा पुष्पा भट्टराई र अनुष्का भट्टराई प्यानल सदस्य थिए। प्यानलमा स्टार्टअप इको सिस्टम, हालको अर्थतन्त्र र संकट प्रबन्धन, वित्तीय र प्रबन्धन, सरकारका नीति र स्टार्टअप कोष, स्टार्टअप ठगी र बजार संरचनाजस्ता विषयमा छलफल गरिएको थियो।
खुला माइक छलफलमा उद्यमीहरू र एसएमईहरूले आफ्नो आविष्कार, प्रश्न र आपसी अनुभवहरू साझा गर्दै विशेषज्ञबाट सल्लाह पनि प्राप्त गरेका थिए। उक्त छलफलमा स्टार्टअप र उद्यमीले एकअर्कामाझ आफ्ना प्रतिक्रिया पनि साझा गरेका थिए।
‘इम्प्याक्ट अप : स्टार्टअप र एसएमई मिट’ कार्यक्रमले स्थानीय र राष्ट्रियस्तरमा उद्यमीहरू र स्टार्टअपहरू लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको विश्वास गरिएको छ। समारोहले तात्कालिक समस्याहरूलाई हल गर्न र नयाँ उद्यममा आधारित भइ अर्थतन्त्र बढाउनको लागि आवश्यक कुरामा चर्चा गर्नुका साथै सबैलाई एकसाथ जोडेका छ। कार्यक्रमले उद्यमी र स्टार्टअपहरूलाई समर्थन, उत्साह र नयाँ अवसर पनि प्रदान गरेको आयोजकको विश्वास छ।