नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबार हत्याकाण्डबारे बोल्दा आफूसँग सोध्ने अध्यक्ष नेपालको भनाइ छ।
जनकपुरधाममा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि!, कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो।’
अध्यक्ष नेपालले दरबार हत्याकाण्डबारे छानबिन आयोगमा आफू नबसेको प्रसंग पनि सुनाएका थिए।
‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ, त्यो छानबिन आयोगमा मेरो नाम पनि आएको थियो। तपाईंहरूले बिर्सनुभएको छैन होला। म त्यसबेला प्रतिपक्षी पार्टीको नेता थिएँ। त्यसबेला मैले समितिमा गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने, कांग्रेस जोगिने भनेर बसिएन,’ उनले भने, ‘त्यसबेला आयोग बनाउन मेरो भूमिका थियो। आयोग बनाउन तत्कालीन राजा ज्ञानेन्द्र मानेका थिएनन्। उनी राजा त भइसकेका थिएनन्, म आफैँ गर्छु छानबिन भनेका थिए।’
कुनै पनि विषयमा प्रधानमन्त्री प्रचण्ड अलि छिटो बोल्ने गरेको अध्यक्ष नेपालको भनाइ छ।
‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीसँग कुनै सल्लाह भएको छैन। हाम्रो प्रचण्डजी अलि छिटो बोल्ने गर्नुहुन्छ।’
प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे छानबिन हुने अभिव्यक्ति दिएका थिए।