आइसिसी यू-१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । बंगलादेश आजको खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्ने सुरमा हुनेछ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ ।
बंगलादेशले समूह चरणमा आयरल्याण्ड र अमेरिकालाई हराउँदा भारतसँग भने हार बेहोरेको थियो । यसपछि सुपर सिक्सको खेलमा पाकिस्तानसँग खेल्न बाँकी छ । यस्तो अवस्थामा दुवै खेल जिते रनरेटको आधारमा बंगलादेश अघि बढ्ने सम्भावना रहन्छ ।
नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।
नेपालले यसअघि विश्वकपमा बंगलादेशसँग दुई पटक खेलेको छ । सन् २००२ मा २३ रनको जित दर्ता गरेको नेपालले सन् २०१६ को संस्करणमा भने हार बेहोरेको थियो ।
नेपाल सुपर सिक्समा खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित दर्ता गरेसँगै नेपाल बाहिरिने पक्का भएको हो ।
नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ । तर अंकविहिन रहेको नेपालले दुवै खेल जितेपनि ४ पुग्दा भारत र पाकिस्तानको ६-६ अंक हुँदा नेपाल अब सुपर सिक्स खेलेर घर फर्कने भएको हो ।
शुक्रबार नेपालले भारतसँग खेल्नेछ।