ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित १०८ औं स्थानमा देखिएको छ।
नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ। गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित ११० औँ स्थानमा थियो। त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित ११७औँ स्थानमा थियो।
ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ। त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचौं स्थानमा छन्। त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन्।
उक्त सूचीमा सोमालिया ११ अङ्कसहित १८० औँ स्थानमा छ। त्यस्तै भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन्। नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अङ्कसहित ९३ औँ स्थानमा र चीन ४२ अङ्कसहित ७६ औँ स्थानमा छन्।
ट्रान्सपरेन्सी इन्टरनेसनको भ्रष्टाचार अनुभूति सूचकाङ्कले सम्बन्धित देशको सार्वजनिक क्षेत्र कति भ्रष्ट छ भन्ने कुरा देखाउँछ। यो सूचकाङ्क तयार पार्नका लागि विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरिएको जनाइएको छ। जसमा विभिन्न १३ प्रकारका सर्वेक्षण तथा जाँच गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले उल्लेख गरेको छ।