स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्रलाई प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिए।
“केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यही हुनुहुन्छ। यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौँ भन्दा छेक्नुपर्ने कारण छैन”, मन्त्री बस्नेतले भने, “केन्द्रलाइ प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ। सरकार ‘कन्भिन्स’ भएको छ। हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ।”
यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ।
“संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस्। मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ”, उनले भने।
मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारीसमेत दिए। उनले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता औंल्याए।
केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गनुपर्ने आवश्यकता रहेको बताए। उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे।
निर्देशक डा मल्लले केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए। “विगत सात वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोही पढन आएका छैनन् र यही अवस्था रहेमा केही वर्षभित्रमा मुटु शल्य चिकित्सकको अभाव हुन सक्ने देखिन्छ”, उनले भने, “यस केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिए सो अभाव पूर्ति गर्न सकिनेछ।”
२०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले २९६ शैय्यामा सञ्चालन भइरहेको छ। केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ।