सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र मुलुकलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन जरुरी रहेको बताएका छन्। शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले साविक अञ्चल अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउन दिने मन्त्रालयको निर्णय छिट्टै कार्यान्वयन हुने बताए।
उनले भने, “मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पठाइसकेको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकाले ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्छौँ।”
एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्स र प्यारामेडिक्सको अध्यापन हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एममिबिबिएस एवम् विशेषज्ञ चिकित्सकको पढाई गर्ने मन्त्रालयको निर्णयको छिट्टै कार्यान्वयन गर्ने उनको भनाइ छ।
उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशीनुपर्ने बाध्यता हट्ने बताए। “चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुनेछ”, मन्त्री बस्नेतले भने।
उनले नेपालमा मेडिकल कलेज र अस्पतालसँग वर्षमा पाँच हजारभन्दा बढी एमबिबिएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण एक हजार नौ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाएको बताए।