पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि घातक प्रहार गरिएकोमा दु:ख व्यक्त गरेका छन्। उनले यो घटनामा राजनीतिक जालझेल गरी नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल फैलाइएको पनि दाबी गरे।
वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’
पूर्वराजा शाहले त्यस्तो पीडादायक क्षणमा पनि आफूले राष्ट्रप्रमुखको हैसियतमा आफ्नो दायित्व निर्वाह गरेको बताए। ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।’
शाहले आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा पनि आफूले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई आफूले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको बताए।
उनले भने, ‘आफ्नो पुर्ख्यौली राजदरबारबाट परित्याग गर्दा २०६५ ज्येष्ठ २९ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ , म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्ति बेलै मैले भनेको थिएँ स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’
पूर्वराजा शाहले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नगर्न आग्रह गरे।
राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुने बताउँदै पूर्वराजा शाहले अगाडि भने, ‘बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु। त्यसै आशय अनुरूप मैले चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ।’