त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।
यसक्रममा अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि पनि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्।
अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए। मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको थियो।
मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए । त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए ।
अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएपछि कसको गल्ती भनेर सिसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटिएको र त्यसबारे प्रहरीसँग बुझ्दा आफूमाथि पनि हातपात भएको हमालले बताए।
प्रहरीले भने आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।
यसबारे अध्यागमन र प्रहरीसहितको बैठक बसिरहेको छ।