सिरहा । मिर्चैया अस्पतालमा चिकित्सकको लापरबाहीले एक सुत्केरीको ज्यान गएको छ । मिर्चैया नगरपालिका-५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएकी हुन् ।
परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म दिएकी छिन् ।
तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो । अत्यधिक रक्तस्राव सुरु भयो । यसबारे चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको आरोप छ ।
अन्तिम अवस्थामा पुर्याएर बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले सुनाए । चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन् ।
घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ । शुक्रबार उनीहरू सडकमा आएर आन्दोलन गर्ने बुझिएको छ ।