रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना परेको छ। मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो।
रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्। उनीहरूलाई बन्दी आदानप्रदानका लागि बेल्ग्रड क्षेत्रतर्फ लाने क्रममा उक्त दुर्घटना भएको उसको भनाइ छ।
रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए।
बेल्ग्रडका क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले बस्ती नजिकै उक्त जहाज खसेको र त्यसमा रहेका सबै जना मारिएको बताए।