यू-१९ विश्वकप क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा न्युजिल्याण्डसँग हार बेहोरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको हो।
पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।
पाकिस्तानका लागि अजन वाइसले सर्वाधिक नटआउट ६३ रन बनाए। पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेका ओपनरद्वय सामिल हुसेन र शाहजैब खानले समान ३७-३७ रन बनाए। नेपालका आकाश चन्दले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ठूलो स्कोर खडा गर्न सकेन। नेपालले ५० ओभरमा सबै विकेट गुमाइ १९७ रन मात्रै जोड्न सक्यो। उसका विपिन रावलले बनाएको ३९ रन नै सबैभन्दा बढी भयो। न्युजिल्याण्डविरुद्ध ९० रन बनाएका अर्जुन कुमाल आजको खेलमा ६ रनमा आउट भए। यस्तै दिपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवाश भण्डारीले २० रन बनाए। गुलशन झा को खराब लय आज पनि जारी रह्यो। उनी मात्र १८ रन बनाएर आउट भए।
पाकिस्तानका अरफत मिनहसले ३ तथा उवैद शाह र अहमद हसनले समान २/२ विकेट लिए।
नेपालले अब अघिल्लो चरण प्रवेशका लागि समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउनै पर्ने हुन्छ। उक्त खेलमा जुन टोली विजयी हुनेछ सोही टोली अघिल्लो चरण प्रवेश गर्नेछ। अफगानिस्तान पनि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको थियो।