नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभरी नै मारामार भइरहेको बताएका छन्। सत्ताका लागि गठबन्धन गरेको आरोप बारम्बार लाग्ने गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
पोखरामा मंगलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘सत्ता सबै हिसाबले आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ।’
उनले यसका लागि पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह पनि गरे। ‘अहिलेको संविधानअनुसार कुनै पार्टीको बहुमत आउन सक्दैन, कुनै न कुनैसँग गठबन्धन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘गठबन्धन गर्नै नपर्ने तरिकाले जित्ने पार्टी बनाउनुस् न त।’