१५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए ।
मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ ।
छोराले त्यसविरुद्ध आवाज उठाएपछि हत्या भएको नन्दबहादुरको आरोप छ ।