अयोध्यामा सर्वोच्च अदालतको आदेशपछि निर्माण भएको राम मन्दिरमा आज (सोमबार) हुने प्राणप्रतिष्ठा कार्यक्रमको तयारी लगभग पूरा भएको छ। यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत हजारौं अतिथि सहभागी हुँदैछन्।
अयोध्या सहरलाई हजारौं क्विन्टल फूलले दुलही जस्तै सजाइएको छ। अवधपुरीमा उत्सवको माहोल छ। सूर्यवंशको राजधानी अयोध्याधामलगायत देशभरका मन्दिरहरूमा राम संकीर्तन र राम चरित मानसको वाचन भइरहेको छ। जन्मभूमि पथदेखि रामपथ, भक्तिमार्ग र धर्मपथसम्म अयोध्यालाई फूलले सजाइएको छ।
विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गरिएको छ। विभिन्न स्थानमा विभिन्न धर्मगुरुद्वारा रामकथा आयोजना भइरहेका छन् भने देशका विभिन्न ठाउँमा रामलीलाहरू पनि मञ्चन भइरहेका छन्। लताचोकमा स्थापित वीणालाई पनि बत्ती र फूलको अद्भूत संयोजनले उज्यालो बनाइएको छ।
भगवान श्रीरामको जीवनीसँग सम्बन्धित विभिन्न अध्यायहरू अयोध्याधामभर भित्ता चित्रको माध्यमबाट चित्रण गरिएको छ।
रामकी पैडीमा सरयु आरतीसँगै लेजर शोका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। अयोध्यामा कुनै यस्तो ठाउँ छैन जहाँ फूल वा एलईडी बत्तीले उज्यालो नभएको हो। यति मात्र होइन, अयोध्या जाने विभिन्न राजमार्गलाई पनि फूल र बत्तीले सजाइएको छ। समग्रमा, अयोध्या स्वर्ग जस्तै भएको छ।
१२ बजेपछि सुरु हुनेछ प्राण प्रतिष्ठा कार्यक्रम
अभिजित मुहूर्तमा भगवान श्री रामको अभिषेक कार्यक्रम हुनेछ। यस ऐतिहासिक अवसरमा कार्यक्रमलाई सफल बनाउन मुख्यमन्त्री योगी एक दिनअघि अयोध्या पुगेका छन्। प्रधानमन्त्री मोदी बिहान १०:२५ बजे अयोध्या धामको महर्षि वाल्मिकी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। उनी १० बजेर ४५ मिनेटमा अयोध्या हेलिप्याड पुग्नेछन्। यहाँबाट उनी सिधै रामजन्मभूमिमा पुग्नेछन्।
त्यसपछि बिहान ११ बजेदेखि १२ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् भने दिउँसो १२:०५ देखि १२:५५ बजेसम्म प्राणप्रतिष्ठाको आयोजना गरिनेछ। दिउँसो १ बजे कार्यक्रम सकिएपछि उनी कार्यक्रम स्थलमा पुग्नेछन्, जहाँ अन्य विशिष्ट अतिथिहरुसँगै उनले देश र विश्वका नाममा सम्बोधन गर्नेछन्। सीएम योगीले पनि यहाँ आफ्नो सम्बोधन दिनेछन्।
काशीका आचार्यले गराउनेछन् प्राण प्रतिष्ठा
समारोहको सबै अनुष्ठान प्रक्रियाहरूको समन्वय, समर्थन र मार्गदर्शन गर्ने १२१ आचार्यहरू हुनेछन्। वाराणसीका गणेशवर शास्त्री द्रविडले सबै प्रक्रियाको अनुगमन, समन्वय र मार्गदर्शन गर्नेछन् भने काशीका लक्ष्मीकांत दीक्षित प्रमुख आचार्य हुनेछन्।
यसका अलावा प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएस सरसंघचालक मोहन भागवत, उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अन्य विशिष्ट व्यक्तिहरू प्राण प्रतिष्ठाको अवसरमा उपस्थित रहनेछन्।
प्राण प्रतिष्ठाको पूजा भने माघ २ गतेदेखि नै सुरु भइसकेको छ।
प्राण प्रतिष्ठाको अवसरमा ८ हजारभन्दा बढीलाई आमन्त्रण गरिएको छ। जसमा साधुसंतसहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। तीमध्ये धेरै मानिस अबेर राति अयोध्याधाम पुगेका छन् भने बाँकी २२ गते बिहानै पुग्न लागेका छन्। यसका साथै भारतीय अध्यात्म, धर्म, सम्प्रदाय, गिरीवासी, तत्ववासी, महामंडलेश्वर, मण्डलेश्वर, श्रीमहन्त लगायतका विभिन्न आचार्यहरूलाई आमन्त्रण गरिएको छ। कार्यक्रममा महन्त, नागा आदिको पनि उपस्थिति रहनेछ।
महाप्रसाद
प्राणप्रतिष्ठा समारोहमा आउनेलाई महाप्रसाद वितरण गर्ने तयारी समेत गरिएको छ। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले कार्यक्रममा उपस्थित प्रतिष्ठित व्यक्तिहरुलाई महाप्रसादको व्यवस्था गरेको छ। महाप्रसादका २० हजार प्याकेट बनाइएको छ।
शुद्ध घिउ, पञ्चमेव, चिनी र बेसनबाट महाप्रसाद बनाइनेछ। महाप्रसाद बनाउन ५ हजार केजी सामग्री प्रयोग भएको छ भने २०० जना खटिएका छन्।
रामजन्मभूमि ट्रष्टले यसअघि नै दैनिक पाँच हजार सन्तका लागि खानाको व्यवस्था गर्दै आएको छ। उनीहरुलाई उदासीन आश्रम रानोपालीमा राखिएको छ।
अयोध्यामा सुरक्षा व्यवस्था कडा
श्री राम प्राण प्रतिष्ठा कार्यक्रमलाई ध्यानमा राख्दै अयोध्यामा भारी मात्रामा प्रहरी परिचालन गरिएको छ। अयोध्याको सुरक्षालाई लिएर यसलाई रातो र पहेँलो गरी दुई जोनमा विभाजन गरिएको छ।
एसपीजी, एनएसजी ब्ल्याक क्याट कमाण्डो, सीआरपीएफ कोबरा, सीआईएसएफ, आरएएफ, एनडीआरएफ तैनाथ गरिएको छ। युपी पुलिस सुरक्षाकर्मीहरू हरेक कुना-कुनामा तयार भएर बसेका छन्। स्निपरहरू पनि छत र महत्त्वपूर्ण स्थानहरूमा तैनाथ गरिएका छन्।
साथै, इन्टेलिजेन्स ब्यूरो र ‘र’ ले पनि गतिविधिमाथि निगरानी राखिरहेको छ। अयोध्यामा राज्यका विभिन्न जिल्लाका १०० भन्दा बढी डीएसपी, करिब ३२५ इन्स्पेक्टर र ८०० सब इन्स्पेक्टरहरू तैनाथ गरिएको छ भने ११ हजार प्रहरी र अर्धसैनिक बलका अतिरिक्त कर्मचारी तैनाथ गरिएको छ।
भीआईपी सुरक्षाका लागि तीन डिआइजी, १७ एसपी, ४० एएसपी, ८२ डिएसपी, ९० इन्स्पेक्टरसहित एक हजारभन्दा बढी हवल्दार र ४ कम्पनी पीएसी खटाइएको छ। भक्तजनलाई पर्यटकीय स्थलको जानकारी दिन २५० प्रहरी गाइड पनि उपलब्ध छन्।