काठमाडौं – काठमाडौंमा बलिदानी दिवस मनाइएको छ। मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना र सम्मानमा काठमाडौंमा पनि बलिदानी दिवस मनाइएको हो।
तराई-मधेश राष्ट्रिय परिषदले काठमाडौंस्थित तीनकुनेमा दीप प्रज्वलन गरी १७ औं बलिदानी दिवस मनाएको हो।
कार्यक्रममा वक्ताहरूले रमेश महतोलगायतका शहिदले मधेशको मुक्तिका लागि बलिदानी दिए पनि राजनीतिक दलहरूको बेइमानीका कारण यो सवाल ओझेलमा परेकोमा दु:ख व्यक्त गरेका थिए।
आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत संरक्षण गर्दै मधेश मुक्तिको लडाईंलाई जारी राख्नुपर्ने उनीहरूले धारणा राखेका थिए। कार्यक्रममा सीएन थारू, गुन्जन झा, बिटु मिश्र, दीपक गुप्ता, नवीन कोइराला, मनीष मण्डललगायतले मन्तव्य राखेका थिए।
२०६३ माघ १ गते सुरु भएको मधेश आन्दोलनको क्रममा माघ ५ गते रमेश महतोले सिरहाको लहानमा शाहदत प्राप्त गरेका थिए। त्यसपछि मधेश आन्दोलन झनै चर्किएको थियो।
यसै दिनको सम्झनामा हरेक माघ ५ गतेलाई मधेशीहरूले बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन्। आज काठमाडौंसँगै लहान, वीरगञ्ज, जनकपुर, राजविराजलगायत मधेशका विभिन्न स्थानमा पनि बलिदानी दिवस मनाइएको छ।