तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ। मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो।
पुलमा दुई सय पायल (खम्बा) निर्माण गर्नुपर्नेमा हालसम्म ५२ वटा खम्बाको काम सम्पन्न भएको छ। कूल सात वटा फाउण्डेशनमध्ये दुई फाउण्डेशनको कार्य सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। “एउटा फाउण्डेशनमा २८ खम्बा हुन्छन्”, उनले भने, “२४ र २८ का गरी दुई फाउण्डेशनको कार्य सम्पन्न भएको छ।”
पुल निर्माणका लागि तल जगको भाग पूरा भएपछि त्यस भन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइने पाण्डेले बताए। उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ। तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो।
बहत्तर किलोमिटर दूरीमा रहेको पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको उक्त पुल निर्माण भइरहेको छ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय सत्तरी मिटर लम्बाइको छ। सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।
ढाँचाअनुसार पूर्वी सडकखण्डको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्ने इञ्जिनियर पाण्डेले जानकारी दिए। उनले भने, “पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ।” पश्चिम खण्डअन्तर्गत दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ।