वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो।
लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो।
गायक वैद्य ७७ वर्षका थिए । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो ।
उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि उत्तिकै लोकप्रिय छन् ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए।
शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन्।