नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ।
गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो।
जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो। वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे २६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए।
निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन्। तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ।