चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुखद रहेको बताएका छन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताए।
“हामीकहाँ हाम्रो चलचित्र देखाउने चलचित्र भवन नै छैनन्। ती विदेशी प्रदर्शन गर्न खोलिए जस्तो महसुुस हुन्छ। अनि हाम्रो उद्योग कसरी हुन्छ ? हामीले कसरी विकास गर्छौं?”, अभिनेता शाहले भने, “हामीले वर्षमा एक सय हाराहारीमा चलचित्र निर्माण गरिरहेका छौँ। हामीलाई लगानी गर्न बैंकलगायतका वित्तीय संस्था तयार छैनन्। त्यसैले त्यसतर्फ ध्यान नदिदासम्म हामीले रुपान्तरण गर्न सक्दैनौँ।” उनले चलचित्र राष्ट्रिय उद्योग नभइए कर्मका रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे।
“चलचित्रकर्मीले सत्यहरिश्चन्द्रदेखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन। यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र उद्योग नभएर कर्म मात्रै भएको छ”, शाहले भने। उनले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताए। बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो।