उच्च अध्ययन र बसोबासका लागि पछिल्लो समय क्यानडा नेपालीहरूका लागि मनपर्ने देशहरू मध्ये एक बनेको छ। हरेक वर्ष ठूलो संख्यामा नेपालीहरु अध्ययन वा जागिरका लागि क्यानडा गइरहेका छन्। जसमध्ये विद्यार्थीको संख्या ठूलो छ।
यसबीच, क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने कुरा गरेका छन्। जसले क्यानडा जान चाहने नेपाली विद्यार्थीलाई पनि पक्कै असर गर्ने छ।
अध्यागमन मन्त्री मार्क मिलरले क्यानडाली नेटवर्कसँगको अन्तर्वार्तामा सरकारले यस वर्षको पहिलो र दोस्रो त्रैमासिकमा घरको माग घटाउन विदेशी विद्यार्थीहरूमा कडाइ गर्ने सम्भावनाबारे विचार गरिरहेको दाबी गरेका छन्। मिलरले श्रमशक्तिको औसत उमेर घटाउने कुरामा पनि जोड दिइने बताए।
रिपोर्टका अनुसार जस्टिन ट्रुडो सरकारले यो वर्ष ४.८५ लाख आप्रवासीलाई देश भित्र्याउने लक्ष्य राखेको छ। २०२५ र २०२६ मा भने ५–५ लाख भित्र्याउने प्रयास गरिनेछ। बीबीसीको रिपोर्ट अनुसार क्यानडाले सन् २०२२ मा ८ लाखभन्दा बढी विदेशी विद्यार्थी भित्र्याएको रेकर्ड छ। यो संख्या पाँच वर्षअघिको तुलनामा ७५ प्रतिशत बढी हो।
४ करोड जनसंख्या भएको क्यानडामा हाल ९ लाखभन्दा बढी विदेशी विद्यार्थी छन्। क्यानाडाको अर्थतन्त्रलाई अगाडि बढाउनमा उनीहरूको महत्त्वपूर्ण भूमिका छ। विदेशीको आगमन बढेसँगै घरको माग र मूल्य ह्वात्तै बढेको छ। स्थानीयका लागि रोजगारीको अवसर पनि घटेको छ।
क्यानेडियन सेन्टर फर पोलिसी अल्टरनेटिभ्सको प्रतिवेदन गत वर्ष अक्टोबर ४ मा बाहिर आएको थियो। कोभिड–१९ अर्थात् अप्रिल २०२० को समयमा लागू गरिएको लकडाउनपछि आवास क्षेत्रको लगानीमा उल्लेख्य गिरावट आएको दाबी गरिएको थियो। एकल परिवारका घरहरूमा लगानी २१ प्रतिशतले घटेको छ, जबकि नयाँ घर निर्माणको दर कम्तीमा ८ प्रतिशतले घटेको छ। त्यस्तै, घरको जीर्णोद्धारमा २१ प्रतिशत र स्वामित्व हस्तान्तरणमा २८ प्रतिशतले कमी आएको छ।
प्रतिवेदनले जनवरीदेखि जुलाई २०२३ सम्म क्यानाडाको वास्तविक जीडीपीमा कुनै वृद्धि नभएको पनि बताएको छ। यसले आवासीय लगानीमा असर गरेको छ। मिडिया रिपोर्टहरूले पनि क्यानाडाको जीडीपी घटेको बताएका छन्। क्यानडाको जीडीपी गत वर्ष जुलाई र अगस्टमा स्थिर थियो।
आवास संकटलाई लिएर पहिलेदेखि नै क्यानेडेली मिडियाहरुमा चिन्ता जताइएको थियो। तर ट्रुडो सरकारले यसमा ध्यान दिएन जसका कारण समस्या ठूलो बन्दै गयो। रिपोर्टका अनुसार क्यानडामा घरबारविहीनहरूको अनुमानित संख्या तीन लाख पुगेको छ। यो संख्या दिनानुदिन बढिरहेको छ।
प्रतिवेदनका अनुसार १० हजार घरबारविहीन भएको टोरन्टो शीर्ष स्थानमा छ। क्यानाडामा अधिकांश घरबारविहीन व्यक्तिहरूको उमेर दायरा २५ र ४९ बीचको छ। ५२ प्रतिशत घरबारविहीनहरू यस उमेर समूहका छन्।
अब क्यानडामा सरकारले विदेशीलाई सम्पत्ति खरिद गर्न प्रतिबन्ध लगाएको छ। आवास अभावको सामना गरिरहेका स्थानीय जनतालाई थप घर उपलब्ध गराउन क्यानडामा आवासीय सम्पत्ति किन्न विदेशीलाई प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्ध आइतबार (जनवरी १) देखि लागू भएको हो।
स्थानीयलाई थप घर उपलब्ध गराउन विदेशीलाई आवासीय घर-जग्गा खरिद गर्न प्रतिबन्ध लगाइएको छ। तर, ऐनमा धेरै अपवादहरू छन्। क्यानडा सरकारले यो प्रतिबन्ध सहरी बसोबास भएको ठाउँमा मात्र लागू हुने स्पष्ट गरेको छ। यो प्रतिबन्ध ग्रीष्मकालीन कटेजहरू जस्ता सम्पत्तिमा लागू हुने छैन।