नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले भने पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको छ ।