दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते छन् ।
बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो ।
प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।
उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
मृतकको सनाखत गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए ।
भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।
बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।