पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजेसम्ममा ५ जनाको मृत्यु र २५ जना घाइतेको उद्धार भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले बताए ।
मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।
नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट रेलिङ भत्काउँदै तल खसेको हो।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।
बसमा ३५ यात्रु सवार थिए ।