बलेवा (बागलुङ) – कात्तिकको महिना, गाउँमा कामको चाप (माचो) थियो। खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ थियो। गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालीचौर झरेका भीमबहादुर विक ‘तानातान’मा थिए। उनलाई काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको दानापानी जुटाउनु थियो। विसं २०५९ कात्तिक २५ गते विक बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको दारेगौँडामा दाइँमा खेताला बने।
सुत्केरीलाई साँझ बिहानका लागि खाना लिएर फर्किने वाचासहित बिहान घरबाट निस्किएका भीमबहादुरको जीवनमा एकाएक अँध्यारो छायो। जनयुद्ध चरम उत्कर्षमा पुगेका बेला थियो। ग्वालीचौरको दारेगौँडामा गस्तीमा रहेको नेपाली सेनामाथि विद्रोही पक्षले विद्युतीय धराप आक्रमण गर्यो। स्थानीय दाइँका गोरु थपथपाइरेका भीमबहादुरले एकैपटक जमिन थर्किनेगरी ठूलो आवाज सुने। आवाजको गति मथ्थर नहुँदै उनको बायाँ खुट्टाको घुँडामाथि गोली लाग्यो। खुट्टाको मूल नसा नै चुँड्यो। क्षणभरमै खेतमा काम गरिरहेका भीमबहादुर दाइँ भएकै ठाउँमा पल्टिए।
घटनामा दुईजना नेपाली सेनाका जवान मारिए। धराप पड्केर आफ्ना जवानको मृत्यु भएपछि सेनाले अन्धाधुन्ध गोली चलायो। “आँखै अघि धेरै जना ढले। कोही म जस्तै घाइते भए। कसैले संसारै छोडे”, विकले भने, “मेरो त सर्वस्व सकियो। झण्डै छोराछोरी टुहुरा भएका थिए। घटनामा ११ जना सर्वसाधारण मारिए। बाँकी ६ जना घाइते भएका थिए।”
घाइतेमध्ये खिमबहादुर जिसीको २०६० सालमा उपचारकै क्रममा मृत्यु भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राजीव घिमिरेले बताए। उनका अनुसार भीमबहादुर, खुसीराम विकलगायतका घाइते अहिले पनि दुःखजिलो गरेर जीवन बिताइरहेका छन्।
“कपडाको टालो बाँधेर एक महिना गोली भएकै अवस्थामा जसोतसो चलेँ। गोली खुट्टामै थियो। ऊबेला कसले उपचार गरिदिने? खर्च पनि त थिएन”, भीमबहादुरले ती दिन सम्झँदै भने, “एक महिनापछि उपचार त भयो तर नसो सोझिएन।” गण्डकी अस्पताल पोखरामा सामान्य उपचारपछि घर फर्किएका भीमबहादुरको अहिले पनि देब्रे खुट्टा चल्दैन। वैशाखीको भरमा हिँड्छन्।
तीन छोरी र दुई छोराका बाउ नै अशक्त भएपछि परिवार पाल्ने जिम्मेवारी आमा सुमित्राको काँधमा आइपर्यो। निमेक नै गरेर उनले छाक टारिन्। कहिले स-साना छोराछोरी बोकेरै मेलामा पुग्ने त कहिले एक्लै मेलापात गरेर घर खर्च चलाएको सुमित्राले सुनाइन्। घटना भएको २१ वर्ष बित्यो। युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता भयो। सम्झौतापछि भीमबहादुरले पनि एकपटक सरकारबाट रू १ लाख राहत प्राप्त गरे।
“गाउँकै एकजना सरले कागज बनाउनेदेखि सबै काम गरिदिनुभयो। बजार जाँदा–आउँदा खर्च दिनुभयो”, विकले सम्झिए, “३० हजार खर्च भएको रहेछ। ७० हजार हात लाग्याथ्यो। अरु केही पाएको छैन।” भीमबहादुरले आफू भूमिहीन भएको बताए। “बडिगाड–५ मा रहेको अहिले घर पनि सार्वजनिक जग्गामा छ। तीन जना छोरीको बिहे भयो। घाइते हुनेबेला एक महिनाका विष्णु विक अहिले २१ वर्षका भए। परिवारका दुःख भने अझै हरिएका छैनन्”, उनले भने।
“जेठोले भारतमा सामान्य काम गरेर आफ्नो खर्च चलाउँदै छ। कान्छो घरमै छ, निमेक पाहुर गर्नेबाहेक हाम्रो आम्दानी केही छैन”, सुमित्राले भनिन्, “हाम्रा लागि त भगवान् पनि बैरी बनेर आयो, घर धान्ने मुलीलाई नै उमेर छँदै ढलायो।”
भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे। कहिले चोयाका सामग्री बनाउने त कहिले बसेरै गर्न सकिने कामको खोजी गरे। उनले कामबाट कहिल्यै जस नपाएको बताए। कुनै ठूलो सहयोगको आशा नगरेको बताउँदै उनले जीवन गुजार्ने सीप खोजिरहेको बताए।
थोरै लगानी र मेहनतले प्रशस्त आम्दानीको स्रोत खोजिरहेका भीमबहादुर आजभोलि च्याउखेती गर्न थालेका छन्। ग्रामीण स्वास्थ्य सुधार परियोजना (बिवाइसी) भन्ने सामाजिक संस्थाले उनलाई च्याउखेतीको तालिम दिएको थियो। घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखे। “सजिलो काम भएकाले मैले धेरै गर्नसक्ने तर न त जग्गा छ, न त पुँजी”, उनले भने, “कसैको साथ/सहयोग पाए सामान्य खर्च चलाउने काम गर्न सक्थेँ।”
स्थानीय बजारमा च्याउको खपत हुने भएकाले आशा पलाएको भीमबहादुरको भनाइ थियो। तालिममार्फत च्याउ खेती सिकेकाले आर्थिक सहयोग पाएमा व्यवसायिक रुपमा यहीँ खेती गर्ने योजना रहेको उनले सुनाए।