राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ।
विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिए। उनले हरेक दुई/दुई वर्षमा बाह्य परीक्षा हुनुपर्ने भएकाले कक्षा ८ पछि एकैपटक कक्षा १२ को परीक्षा लिने गरी राखिएको विधेयकको प्रस्ताव उचित नभएको बताए।
कक्षा १० मा बोर्ड परीक्षा नलिँदा कक्षा १२ मा अनुत्तीर्ण विद्यार्थीको दर झन बढ्नसक्ने र अनुत्तीर्ण हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नसक्ने औंल्याउँदै शर्माले परीक्षाको स्तर र स्वीकार्यता नभएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा मान्यता नपाउने भएकाले कानुन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गरे।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जनको प्रक्रिया जारी रहेको बताए। उनले स्थानीय तथा मातृभाषाका पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षकको क्षमता विकास गर्नुपर्नेमा जोड दिए।