नेपाल पुलिस क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। साविक विजेता नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित भएको गर्दै पुलिसले उपाधि जितेको हो।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो।
यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला पनि लिएको छ। समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो।
फाइनलमा पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारे पनि त्यसपछि लगातार पुलिसले तीन सेट २५–१९, २५–१८ र २५–२३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ हात पारेको छ।
बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।