अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको पेरग्रीन अन्तरिक्ष यान आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको छ।
यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही समस्या देखा परेकोमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित भएको रकेट निर्माण गर्ने कम्पनी एस्ट्रोबटिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
रकेटले अमेरिकी अन्तरिक्ष यान पेरग्रीन ल्यान्डर बोकेको छ। इन्धन चुहावटको समस्याका कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न नसकेका अभियानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।
पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो। आउँदो महिना चन्द्रमामा अवतरण गर्ने ठानिएको यो यान चन्द्रमामा पुगेमा पाँच दशकपछि चन्द्रमामा सुरक्षित अवतरण गर्ने अमेरिकी यान बन्ने थियो।