मोरङमा अपहरणमा परेका एक जना बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ। जहदा गाउँपालिका-१ बाट मंगलबार दिउँसो ३ बजेतिर १० वर्षीय धनीधर राजवंशी अपहरणमा परेका थिए। उनी जहदा-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन्।
विद्यालयबाट आएर घरनजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला बालकलाई अपहरण गरेर लगिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
अपहरण कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर-१८ का २१ वर्षीय विवेकानन्द यादव छन्। सुरुमा अभिषेक पक्राउ परेका थिए। त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।