राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो साता माध्यमिक शिक्षा परीक्षा (एसइइ) हुने जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्षको एसइइ क्यालेन्डर अनुसार चैतको पहिलो साता हुने जानकारी दिए।
शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बुधबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेको भए पनि विधेयक संसदमा छलफलको क्रममै रहेकोले बोर्डको निर्धारित तालिकाअनुसारै एसइइ हुने प्रष्ट पारे।
एसइइका लागि ४ लाख ८९ हजार ४४४ विद्यार्थीले रजिस्ट्रेसन भरेका छन्। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए।
‘यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुन्छ। केही विषयको पुरानो अनुसार हुन्छ। नन ग्रेडिङ लागू हुँदैछ। ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ,’ उनले भने। यसअघि ग्रेडिङ सिस्टम रहेको थियो।