जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए।
उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ।
१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार आजको मिति तोकिएको थियो ।
सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ। दुवै पक्षले फैसलामा चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन्।
लामिछानेले पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो। पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतको ठहर छ।
गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।
२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए।वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।
जिल्ला अदालतले त्यसपछि गत वर्ष कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर गत वर्ष पुस १८ गते उच्चले उनलाई २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो। उनलाई विदेश जान रोक लगाइएको थियो। उच्च अदालतले विदेश जान रोक लगाएकामा सर्वोच्च अदालतले भने उनलाई विदेश जान पाउने आदेश दिएको थियो।