वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका झापा अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्।
उनी २०६० सालमा २२ वर्षकाे हुँदा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए। मलेसिया गएकाे चार वर्षसम्म परिवारकाे सम्पर्कमा रहेका बिनाेद त्यसपछि सम्पर्कविहीन भएका उनकी ६६ वर्षीया आमा सुकमायाले बताइन् ।
‘२२ वर्षको हुँदा मलेसिया गएको थियो । अहिले ४२ वर्षकाे भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन’ सुकमायाले भनिन्।
विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने तयारीमा छन्। दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ । विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन्।
‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’, उनले भने। सुकमायाले ९० हजार रुपैयाँ ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाण्डाैको मेनपावरबाट मलेसिया पठाएको बताइन् ।
उनले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताइन्।
आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन्।