सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाइएको छ । आइतबार प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।
आइतबार १२ बजेर ४५ मिनेटदेखि सोमबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ‘क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।
स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो । प्रहरीले प्रदर्शनकारीलाई लखेट्न केही सेल अश्रुग्यास हानेको छ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।