गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । मन्त्रालयले सो घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिए ।
‘उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ (सात) दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको मिति २०८०/०९/२१ गतेको निर्णयानुसार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अस्पताल स्तरोन्नति गर्ने/नगर्ने विषयमा शुक्रबार छलफलमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर साहको मृत्यु भएको थियो ।