सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
नगर अस्पताल स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा भएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो।
स्थानीय प्रशासनले यसअघि हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निषेधाज्ञा जारी गरिएको जानकारी दिए । कुनै पनि किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा एवं गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा शुक्रबार स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो।