आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
नेपालले दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले एकपटक मात्र ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसक्रममा अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो । बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो चरण पुग्न सकेको थिएन ।
विश्वकपमा नेपालको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सँग ड्यालसमा रहेको छ। त्यस्तै जुन ११ मा नेपालले श्रीलंकासँग फ्लोरिडामा खेल्दा, १४ जुनमा दक्षिण अफ्रिकासँग सेन्ट भिसेन्टमा र १६ जुनमा बंगलादेशसँग सेन्ट भिसेन्टमा नै खेल्नेछ । प्रतियोगिताको फाइनल खेल बारबाडोसमा हुनेछ।
वेस्ट इन्डिज र अमेरिकामा विश्वकप प्रतियोगिता आयोजना हुँदै छ ।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल