प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुने उनको भनाइ छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन्।
‘एचआइसिडिडी अन्तर्गत भारतले दिने रकम ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो। तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन, प्रक्रिया छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नगरपालिकाबाट गर्ने हो। तर, यहाँहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। बढी व्यवहारिक बनाउन लागिनेछ।’
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । उक्त सहमतिको विरोध भएपछि प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।