काठमाडौं – बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो व्यापारिक प्रयोजनका लागि खिच्न निषेध गरिएको छ।
पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै व्यापारिक प्रयोजनका लागि भिडियो खिच्न निषेध गरेका हुन्।
‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपति क्षेत्रका भिडियोहरू खिचेर जथाभावी व्यावसायिक प्रयोजनका लागि राख्ने गरेको पाइएपछि उक्त सूचना राखिएको बताए। यसरी खिचेर सामाजिक सञ्जालमा भिडियो राखेको पाएमा बुढासुब्बा डिजिटल प्रालिले कपिराइट लगाउने उनले बताए।
‘व्यक्तिगत कार्यक्रमका लागि जस्तै, पूजा, ब्रतबन्धमा आउनुभयो भने मेमोरीका लगि खिच्न पाइयो। व्यावसायिक उत्पादन र प्रसारण गर्न पाइँदैन,’ उनले भने, ‘भिडियोहरू लाइभ गर्ने, जथाभावी बोल्ने, हिन्दु धर्मलाई बिगार्ने, कोषलाई गाली गर्ने, सरकारलाई गाली गर्ने खालका कुराहरू पनि भएको पाइयो। त्यसैले यसरी निर्णय गर्यौं।’
नियमन गर्ने भन्दै कोषले यसका लागि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाअनुसार बुढासुब्बा डिजिटल प्रालि छानिएको उनले बताए।
केही महिनाअघि मासिक रूपमा एक लाख ६० हजार रुपैयाँ पाउने गरी कोष र बुढासुब्बाबीच सम्झौता भएको थियो। यो सम्झौता पाँच वर्षका लागि भएको प्रवक्ता अधिकारीले बताए।