राष्ट्रिय खेलकुद परिषद् राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री क्वार्टरलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित अहिलेको मन्त्री निवासलाई खेलाडी आवासमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो।
विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका क्रममा होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो निर्णय गरेको सदस्य–सचिव घिसिङले बताए।
मन्त्रीहरुका लागि ललितपुरकै भैंसेपाटीमा सुविधा सम्पन्न आवास निर्माण भइरहेको छ। त्यो निर्माण पूरा भएपछि मन्त्रीहरु भैंसेपाटीको आवासमा बस्ने भएकाले हरिहर भवनको आवास खाली हुने छ।
त्यो खाली हुने निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको राखेपले जनाएको छ। पुल्चोकको मन्त्री निवासमा १७ वटा भवन छन्। सरकारले भने यसअघि नै पुल्चोकको मन्त्री निवास न्यायाधीश निवास बनाउने निर्णय गरिसकेको छ।