काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तिमा ब्यापक हेरफेर र सुधार आवश्यक रहेको बताएका छन्। भैरहवामा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तिमा ब्यापक हेरफेर र सुधार गर्नैपर्छ। गौरवशाली देश अहिले सवैले हेपेको सवैले छर्के आँखाले हेर्ने अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति गरेका छन्। हाम्रो स्वावलम्बि देशमा खिया लाग्दै गएको छ’, उनले भने।
पूर्वराजा शाहले आफू सधैं नेपाली जनताको साथमै रहेको बताए। साथै उनले अहिलेको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए। ‘म कतै अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु। नेपालभित्रै छु। नेपालीहरुको सुखदुख सुविधा, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालीरहेको छु’, उनले सम्बोधनका क्रममा भने।
शाहले देशको युवा जमात रोजगारी तथा गुणस्तरीय उच्च शिक्षाको खोजीका लागि बाहिरिइरहेकोमा दुख व्यक्त गरे। उनले भने, ‘देश आज जरजर भएको छ। बेरोजगारी, गरिबी शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशीएको छ। देशको माया नभएर होइन, अवस्था विग्रेर। असन्तोष आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको छ। यस्तो अवस्थाको अन्त्य हुनैपर्दछ।’
उनले आफू जहाँ पुग्दा पनि देश बचाउ भन्ने अभिव्यक्ति सुन्ने गरेको भन्दै देश बनोस्, देश बचोस् भन्ने आफ्ना पूर्ख्यौली भावना र इच्छा नै भएको बताए। ‘सम्पदाको धनी भएर पनि आज हामी कताकता हराइरहेका छौं, भागिरहेका छौ। म जता जाउँ, जहाँ पुगु जनआवाज गुञ्जिएको सुन्छु, मलाई आउ देश बचाउ, देशको सभ्यता र समृद्धि बढाउ। यहाँ उभिएर म भन्दछु, म बोलिरहेछु, देश बनोस् देश बचोस् भन्ने आफ्ना पूर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु।’
करिब १२ मिनेटको सम्बोधनमा उनले देश बनाउन अब सवैले एक ठाउँ अभिनुको विकल्प नभएको संकेत गरे। ‘आउ अब सबै हामी एकै ठाउँमा उभिऔं, अनि सौचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं। देश हामीले नै बनाउने हो। हाम्रै स्रोत र साधनको परिचालन गरेर। देशको समृद्धि हामीले नै अघि बढाउने हो’, शाहले भने।
सम्बोधनको भिडियो-