विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०७ बमोजिम मुख्यमन्त्री केदार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेश गरेका थिए।
मन्त्री राईले विधेयकमाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै उक्त विधेयकले सुशासन र जनशक्ति परिपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले विधेयकले स्थानीय तहमा न्याय सम्पादन र सूचना प्रणालीलाई व्यवस्थित गर्न पनि मद्दत गर्ने धारणा राखे।
न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफल भइ आएको सो विधेयकबारे कोशी प्रदेशसभा सदस्यद्वय रेवतीरमण भण्डारी र प्रदीप सुनुवारले आफनो धारणा राखेका थिए।