अष्ट्रेलियाका दुई पटकका विश्वकप विजेता ओपनर डेविड वार्नरले ओडिआई क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । दुई महिना अघि भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियालाई जिताउन महत्वपूर्ण प्रदर्शन गरेका वार्नरले ओडिआईबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
वार्नरले २०२३ को विश्वकपमा २ शतकसहित कुल ४ सय ९४ रन बनाएका थिए । पाकिस्तानविरुद्ध १ सय ६४ र नेदरल्यान्ड्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । उनले अष्ट्रेलियाबाट १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकसहित कुल ६ हजार ९ सय ३२ रन बनाएका थिए ।
बायाँ हाते ब्याटर डेविड वार्नर विश्व क्रिकेटमा आक्रामक ब्याटिङका लागि चर्चित ब्याटर हुन् । आफ्नो विष्फोटक ब्याटिङमा टोलीको जित सहज बनाउने खुबी राख्ने गर्दछन् ।
यस विश्वकपमा सानदार प्रदर्शन गरेपछि उनले २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्न सक्ने अनुमान गरिएको थियो । तर सोमबार उनले ओडिआईबाट सन्न्यास लिएको जानकारी दिएका छन् । वार्नरले अन्तिम टेस्ट खेल पाकिस्तानविरुद्ध बुधबार देखी सुरु हुने खेल खेल्दैछन् । उनको यो बिदाई खेल हुनेछ ।
वार्नरले १ सय ११ टेस्ट खेलमा २६ शतक र ३६ अर्धशतकसहित कुल ८ हजार ६ सय ९५ रन बनाएका छन् । वार्नरले अष्ट्रेलियाबाट टि२० आई खेल भने खेल्नेछन् ।
२०२१ मा अष्ट्रेलियालाई टि२० विश्वकपको उपाधि जिताउन वार्नर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । वार्नरले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्ने पक्का छ । त्यसपछि उनले युवा खेलाडीलाई मौका दिन नखेल्न सक्छन् ।