सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ ।
ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ । यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ ।
आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ।
यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रूपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ ।
यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एंव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ ।
दन्त्ये कथा जान्नेहरू नजिक गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन । दन्त्यकथा भन्नेले परम्परागत शैलीमै सुनाउँदै बीचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । श्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन । राक्षस, भुत, प्रेत, देवता, प्रेम, राजासंग सम्बन्धित दन्ते कथाहरू बढी प्रचलित छन । जुन कथा बढी प्रचलित छ त्यहि कथा सुनाउनका लागि बढी माग हुने गर्दछ ।
दन्त्य कथासँगै गाउँ खाने कथा समेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचिनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिकता भने हराउँदै जान थालेको छ ।