अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पुस १५ गते साँझ ठमेलमा ‘सडक महोत्सव’ हुन लागेको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलस्थित सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।
‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ,’ उनले भने। ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा १ लाख ८० हजार व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ ।
ठमेल सडक महोत्सवलाई सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले बताए। गतवर्षको तुलनामा ठमेलभित्रका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।
ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको उल्लेख गरे।
सडक महोत्सव सम्पन्न गर्न रु २२ लाख हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए।
नेपाल आएका पर्यटकमध्ये करिब ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन्।