नेपाली चलचित्र‘दिमाग खराब’ले प्रदर्शनको ५१ दिन मनाएको छ। न्यूरोडको रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ दिन मनाएको हो। फिल्मले अहिलेसम्म १० करोड हाराहारीमा कमाइ गरिसकेको निर्देशक निश्चल बस्नेतले जानकारी दिए।
सो अवसरमा कलाकार, निर्माता र वितरकले केक काटेर ‘दिमाग खराब’को सफलता मनाए। यसैसमय बस्नेतले पछिल्लो फिल्म ‘दिमाग खराब’को दोस्रो श्रृंखला ल्याउने घोषणा पनि गरे। उनले २०८३ सालको दशैंमा सिक्वेल आउनसक्ने बताए।
उनले भने, ‘ढुक्क हुनूस सिक्वेल आउँछ। २०८३ सालको दशैंमा आउँछ। हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय त्यसमा हुनेछ। अहिले भनिहाल्ने अवस्था छैन। तर, त्यो समयलाई टार्गेट गरेर आउँछ।’
अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’ ५१ दिन मनाउने आफू अभिनित पहिलो फिल्म भएको बताए। अभिनेत्री स्वस्तिमा खड्काले दर्शकको प्रतिक्रियाले आफू उत्साहित रहेको बताइन्।