दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो ।
यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ। पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो ।
उपविजेता बनेको धनगढीले रु २० लाख पायो ।
ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे ।
यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक-एक गोल गरे ।
खेलमा ३७ औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक/-एक गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५० औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।
खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।