जिल्ला प्रहरी परिसर ललितपुरले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ। शुक्रबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाबारे विज्ञप्ति जारी गर्दै आक्रोशित भीडलाई नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको हो।
ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका-१ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका-६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन रावत छन्।
विज्ञप्तिमा शाहको गोली लागि घाइते अवस्थामा उपचारका क्रममा पाटन अस्पताल र रावतको किष्ट अस्पतालमा मृत्यु भएको उल्लेख छ।
प्रहरीमाथि ढुंगामुढा गर्दा डिएसपी उमेश लम्साल, प्रहरी सहायक हवल्दार सुशिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फ पनि चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनकारीले भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी तोडफोड र आगजनी गरेकोले बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। विशिष्ट व्यक्तिको सुरक्षा र थप क्षति हुनबाट जोगाउन स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले भीडलाई सम्झाउन समेत खोजेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
सामान्य बल प्रयोग गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले गोली चलाएको एसपी कार्कीले बताएका छन्।
‘प्रहरीले आक्रोशित भीडलाई तोडफोड आगजनी नगर्न सम्झाइबुझाइ गर्दा नमानेकोले सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआइ टियर ग्यास, रबर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेबार बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको हो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ।