उच्च अदालत पाटनले कोरिया भाषा परीक्षाको आवेदन फारम भर्नका लागि कसैलाई रोक नलगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
पानी जहाज निर्माण क्षेत्रका कामदारका लागि ईपीएस कोरिया शाखाले साउनमा आवेदन लिएको थियो । त्यसपछि गत मंसिरमा उत्पादनमुकल क्षेत्रको कामदारका लागि हुने भाषा परीक्षाको सूचना निस्कियो, जसमा आवेदकको योग्यतामा २०२३ भित्र भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख थियो। यसले पानी जहाज निर्माणतर्फ भाषा परीक्षाका लागि आवेदन दिएकाहरुले यसमा आवेदन दिन पाएका थिएनन्। यो निर्णयविरुद्ध अदालतमा रिट परेको थियो।
यसै निर्णयको विरोधमा शुक्रबार ललितपुरको ग्वार्को र बालकुमारीमा प्रदर्शन भएको थियो। त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी भएको थियो।
त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्।