दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्नुका साथै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि भएको प्रहरी कारबाहीमा दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ भने अन्य केही घाइते छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।