नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणको विजेताले पाउने पुरस्कार राशिमा दोब्बर वृद्धि भएको छ ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार एनएसएल विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएको हो । अघिल्लो संस्करणको विजेताले ३५ लाख प्राप्त गरेको थियो ।
यसैगरी उपविजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेेेलाडीले ( गोल्डेन बल) २ लाख, सर्वाधिक गोलकर्ता ( गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर ( गोल्डेन ग्लोभ) ले समान १/१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
एनएसएसको दोस्रो संस्करणको फाइनल शनिबार हुँदैछ । पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै साबिक उपविजेता धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ ।
बिहीबार हुने दोस्रो क्वालिफायरबाट फाइलन पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । दोस्रो क्वालिफायरमा पोखराले ललितपुर सिटी एफसीको सामना गर्नेछ ललितपुरले एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको थियो ।